बस्ति बाट लखेटिदा . . . . (poem)


बस्ति  बाट  लखेटिदा . . . .             

किसान  को  सन्तान  हु 
परिश्रम  मेरो  रगतमा   
मेरो  लागि  हिड्नु  कुनै  ठुलो  कुरो  होइन
जसरि  तिम्रा  हत्केलाले  नोट  हरु  चिन्दछन 
जसरि  तिम्रा  नेताहरुले  भोट  हरु  गन्दछन
हो,  त्यसरी   नै  मेरा  पैतालाहरुले  घर  लाग्ने  बाटो  महसुस  गर्दछन  

तिम्रा मोटर गाडी चिल्ला सडक हुनु अघि नै
हरेक वर्ष,
हिउ छल्न,
घाम छेक्न,
सामल भित्र्याउने निहुमा 
भेडा, च्यांग्रा , दुहुने गाइ समेत बोकेर
मेरा बजे बराजेहरुले यी डांडा -काँडा, हिमाल तराइका फाँट हरु पैतालाले नै नपेथे।
हो, तेही पौरखीको सन्तान हुं
त्यसैले हिड्न डराउदैन
तर ,
यत्रो महलहरुको लास्करमा
एक गाँस ओत को सामान्य आवस्यकता पुरा नभएपछि
मलाइ जस्तै देखिने
जस्तै भाषा बोल्ने 
र, जस्तै देउता पुज्ने मान्छे देखेर डर लाग्यो

उहिले उहिले मेरा हजुरबाउ  हरु मलौट जादा
बाटाका अँध्यारा  जंगल  देखि  तर्किन्थे
जंगली जनावरहरु देखि झस्कन्थे
त्यसैले रातभर आगो  बल्थे
मेरा हजुरबाउहरु,
बस्ति देख्दा दङ्ग पर्थे 
मान्छे देख्दा फुरुङ्ग हुन्थे
किनकि,
त्यो बेला मान्छे भनेका आड थियो
अनि, बस्ति भनेको सुरक्षा

तर आज, बस्तिनै जंगल जस्तै बिरानो भएको बेला
र, मान्छे जंगल का जनावर जस्तै डरलाग्दा भएको  बेला
आफै अलमल्लमा  छु
मलाइ यो बिरानो ठाउमा बस्नु छैन
त्यसैले घर हिड्छु
जतिनै दिन लागेपनि
जतिनै जंगल छिचोल्नु परेपनि
मलाई मेरो घर पुग्न आउछ
किनकि मलाई थाहा ,
कुनै जि. पी. आर. एस. कुनै गुगल म्याप बिना
मेरा हजुरबाउ हरु अबेर नै भएनी घर पुग्थे
पनि घर पुग्नेछु।
माहाकाली पारिका मान्छेहरु प्रति तिम्रा बस्ति का गन्थन सुन्दा
मेरो मन झुक्किएको थियो
आज आफु वारि हुदा समेत तिम्रो बस्ति बाट लखेटिदा
मन झस्किएको

खैर,
घर पुगेपछि मलाई एउटै कुराको चिन्ता
हजुरबाउ हरु जस्तो,
संग,
आफ्ना सन्तान हरुलाई रोमाञ्चक बनाउने
जंगली जनावर संग झस्केको
जंगल मा तर्सेको किस्सा  छैन
कहिले नबिर्सिने,
मान्छे संग डराएको,
मान्छे बाट लखेटिएको नमिठो अनुभव
जुन सुनाउने संग हिम्मत छैन

कुनै दिन यो बस्ति का मान्छेलाइ मेरो गाउँको गोरेटोमा भेटे,
 मलाई यिनीहरुलाई-    
"मान्छे कस्तो हुनुपर्छ ?"
"बस्ति   भेट्दा  कस्तो हुन्छ ?"
  सम्झाउन  मन 
 उनीहरुलाई मिठो मसिनो खुवाएर
 आफ्नै घर मा बास दिन मन
ताकि उनीहरुले,
बस्ति मान्छे भेट्दाको आड भरोसाको कथा
आफ्ना सन्तान लाइ सुनओस
मेरो सन्तान ले,
उसको बस्तीमा समस्या भोग्दा
जसरी रोएर घर पहिल्याउन नपरोस।

मलाई बस्ति जंगल भएको,
मान्छे जंगली भएको, नमाज्जाले बिझाएको
त्यसैले घर हिड्छु
मैले मान्छेलाई जंगली हुन बाट बचाउनु
-प्रज्ञा

Comments